काठमाडौं। आगामी भदौ १३ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘गुन्यो चोलो : द ड्रेस’ को दोस्रो गीत ‘मान्छे को चिनारी’ सार्वजनिक गरिएको छ। विहीबार युट्युबमार्फत सार्वजनिक भएको गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।
गीतमा निर्देशक समुन्द्र भट्टको शब्द र केतन क्षेत्रीको स्वर रहेको छ। भिडियोमा फिल्मका सम्पूर्ण कलाकारहरूलाई फिचर गरिएको छ। भावनात्मक शैलीमा तयार गरिएको भिडियोले फिल्मको कथा र पात्रलाई झल्काउने प्रयास गरेको छ।
गीत सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकमाझ थप उत्सुकता बढेको छ। यसमा अभिनेता नाजिर हुसेनले ट्रान्स–हुमेनको भूमिका निर्वाह गरेका छन्। नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मलाई समुन्द्र भट्टले निर्देशन गरेकी हुन्। नेपाली र हलिउड प्रोडक्सन हाउसको संयुक्त सहकार्यमा बनेको यस फिल्ममा लगानी आकाश बुढाथोकी र भि–भन्से जानुबोनले गरेका हुन्।