वैज्ञानिक कथामा बनेको नेपाली फिल्म ‘एक्लो’को सम्पूर्ण छायांकन सम्पन्न

काठमाडौं । निर्देशक प्रदीप शाही निर्देशित नेपाली फिल्म ‘एक्लो’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। बाँकी रहेको एक गीतको छायांकन पनि हालै काठमाडौंमा भव्य सेटमा गरिएको निर्देशक शाहीले जानकारी दिएका छन्।

गीतमा मुख्य कलाकार कविता नेपाली फिचर्ड छिन् भने स्वर स्वप्निल शर्माको र संगीत रोहित शाक्यले भरेका छन्। गीतको कोरियोग्राफी पनि कविता नेपालीले नै गरेकी हुन्। कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ का अनुसार गीत यसै वर्षको दशैंमा सार्वजनिक गर्ने तयारी छ।

वैज्ञानिक कथामा बनेको ‘एक्लो’ नेपाली चलचित्र क्षेत्रमा दुर्लभ मानिएको छ। फिल्ममा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा रहेका छन्। पोस्ट–प्रोडक्सन लन्डनमा भइरहेको यो फिल्म आउँदो पुस, क्रिसमसको अवसर पारेर रिलिज गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ। यसअघि सार्वजनिक टिजरमा प्रदीप खड्कासँगै विजय लामा, दिया पुन, कविता नेपाली, जेमी बेकन र बेनिशा हमाललगायतका कलाकार देखिएका थिए।

फिल्मले यसअघि कान्स फिल्म फेस्टिभलको बजार क्षेत्रमा उपस्थिती जनाइसकेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा समेत चासो बटुलिसकेको छ। निर्देशक शाही, जो लामो समयदेखि बेलायतमा बस्दै आएका छन्, यसअघि दुई फिल्म निर्देशन गरिसकेका हुन्। उनले ‘एक्लो’ लाई हलिउडस्तरको प्रविधि र प्रस्तुति दिने लक्ष्यसहित निर्माण गरेको बताए।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, आरुषजंग सारु मगर, श्रीशेष श्रेष्ठ, बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायत कलाकार देखिनेछन्। साथै, बेलायती अभिनेता जेमी बेकन पनि विशेष भूमिकामा छन्।

फिल्मका निर्मातामा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन्।

प्राविधिक पक्षमा छायांकन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले गरेका छन्।

Leave a Reply