‘जारी २’सँगै झुमा लिम्बुको ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ सुरु हुँदै

काठमाडौं । गायिका झुमा लिम्बु एण्ड दि रैथाने व्याण्डले आगामी असोज ३ गते प्रदर्शनमा आउन लागिरहेको सिनेमा ‘जारी २’ को सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएको छ । कन्सर्टको सुरुवात भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुनेछ, जहाँ ‘जारी २’ को टिमले च्याब्रुङ नृत्य पनि प्रस्तुत गर्नेछ ।

झुमाले नेपालका विभिन्न १० सहरमा शोलो प्रस्तुति दिनेछिन् । हरेक कार्यक्रममा स्थानीय कला, संस्कृति र गीत–संगीतलाई विशेष प्राथमिकता दिने बताउँदै उनले भनिन्, “यो यात्राले संस्कृति र संगीतलाई नयाँ पुस्तासम्म पुर्‍याउनेछ । रैथाने घुमफिर गाउँ र सहरबीचको सांस्कृतिक पुल बन्नेछ ।”

कन्सर्टमार्फत हाक्पारे, पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनीलगायत मौलिक लोकसंगीत र नृत्यलाई प्रस्तुत गरिनेछ । झुमा लिम्बुको भनाइमा, लोकसंगीत केवल मनोरञ्जन मात्र नभई नेपालको जीवनशैली, इतिहास र सामुदायिक एकताको पहिचान हो ।

यस वर्ष ‘रैथाने घुमफिर’ नेपालमै सीमित हुने भए पनि आगामी वर्ष यसलाई विदेशमा समेत लैजाने योजना छ । हरेक कार्यक्रममा स्थानीय कलाकार र वाद्यवादनलाई प्राथमिकता दिइ विविधताको प्रदर्शन गरिने आयोजकले जनाएको छ । अन्य कार्यक्रमबारे विवरण क्रमशः सार्वजनिक गरिनेछ ।

Leave a Reply