काठमाडौं । अभिनेता धीरज मगरविरुद्ध ‘ऐरी’ फिल्मका निर्माताले १४ करोडभन्दा बढी क्षतिपूर्ति माग्दै चलचित्र निर्माता संघमा उजुरी दिएका छन्।
मल्टिमेट प्रालिका तर्फबाट निर्माता कमलबहादुर आलेले २ भदौमा दर्ता गरेको उजुरीमा धीरजले सहमतिअनुसार छायांकनमा उपस्थित नहुँदा कूल १४ करोड ७९ लाख ५१ हजार ९५३ रुपैयाँ बराबर क्षति भएको उल्लेख छ।
१० लाख पारिश्रमिकमध्ये ४ लाख रुपैयाँ अग्रिम पाएका धीरज सुटिङमा नआएको र कानुनी नोटिस पठाउँदा समेत सम्पर्कमा नआएको दाबी उजुरीमा गरिएको छ।
धीरजले १६ दिन मात्रै सुटिङ गरेको तर सहमतिअनुसार बाँकी २८ दिन अनुपस्थित भएको निर्माताको आरोप छ।
संघका अध्यक्ष नवल खड्काले दुवै पक्षलाई बोलाएर मिलापत्रको प्रयास गर्ने बताए। उनका अनुसार, मिलापत्र नभएपछि दुवै पक्ष कानुनी प्रक्रियामा जानेछन्।
हालै ढोरपाटन क्षेत्रमा करिब एक महिना सुटिङ भएको ‘ऐरी’को छायांकन अहिले रोकिएको छ। यो फिल्म झण्डै एक वर्षसम्म खिचिने बताइएको छ।
निर्माता संघका अनुसार पछिल्लो समय लेनदेन र आर्थिक विवादसम्बन्धी उजुरीहरू संघमा दर्ता हुने क्रम बढ्दै गएको छ।