दयाहाङ राईको ‘मैझारो’मा इन्ट्री, सुटिङ सेटबाट सार्वजनिक भयो लुक्स

काठमाडौं । अभिनेता दयाहाङ राई फिल्म ‘मैझारो’मा मुख्य भूमिकामा देखिने भएका छन्। सुटिङ सेटबाट बाहिरिएको लुक्समा उनी लिम्बू समुदायको भेषमा तीर हान्दै देखिएका छन्।

निर्माण पक्षले प्रारम्भमा दयाहाङको फिल्ममा हुने–नहुने विषयमा जानकारी खुलाएको थिएन। अन्ततः उनी मुख्य भूमिकामा अनुबन्ध भएको पुष्टि भएको छ। निर्देशक विल्सन बिक्रम राईले दर्शकलाई यस सरप्राइजमार्फत उत्साहित गरेका छन्।

मौलिक प्रेमकथामा आधारित यो फिल्मको छायांकन साउनको पहिलो हप्ताबाट इलाममा सुरु भएको थियो। छायांकन देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा सम्पन्न भएको छ।

फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले लगायत कलाकारहरू रहेका छन्। संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईको रहेको छ भने राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीको स्वर सुन्न पाइनेछ। छायांकन सौरभ लामाले गरेका हुन्। फिल्मको वितरण आरआर फिल्मले गर्नेछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।

‘मैझारो’ फिल्म ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको छ।

Leave a Reply