काठमाडौं । तीजको छेको पारेर भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म कोशेढुंगा को ट्रेलर राजधानीमा विशेष कार्यक्रमसहित सार्वजनिक गरिएको छ।
‘पूर्णबहादुरको सारंगी’ जस्तो सर्वकालीन ब्लकबस्टरमार्फत नेपाली दर्शकमाझ छुट्टै पहिचान बनाएका निर्देशक सरोज पौडेलले यसपटक पनि सामाजिक र पारिवारिक जीवनका संवेदनशील पक्षलाई समेट्ने प्रयास गरेका छन्। ग्रामीण परिवेशमा आधारित कथा हुँदै कोशेढुंगा ले दाम्पत्य सम्बन्धका उतार–चढाव, पारिवारिक बन्धन र मानवीय द्वन्द्वलाई पर्दामा उतार्ने संकेत गरेको छ।
३ मिनेट ४३ सेकेन्ड लामो ट्रेलरमा गाउँको सरल जीवनशैलीसँगै पात्रहरूको भावनात्मक उल्झनलाई तिखो तरिकाले चित्रण गरिएको देखिन्छ। संवाद, दृश्य र संगीतले दर्शकलाई फिल्मको कथा भित्र्याउने माहोल सिर्जना गरेको छ।
फिल्ममा आर्यन सिग्देल र सुरक्षा पन्त प्रमुख भूमिकामा छन्। उनीहरूलाई प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, सरोज खनाल, मञ्जिलकुमार लगायतका कलाकारले साथ दिएका छन्। कथा तथा पटकथा निर्देशक पौडेलकै हो। फिल्मलाई प्रविल कँडेल र किशोर अनुरागले निर्माण गरेका छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्।
नरेदवी फिल्म्स र सारंगी फिल्म्सको संयुक्त प्रस्तुति रहेको कोशेढुंगा लाई अन्तर्राष्ट्रिय स्तरमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्ने तयारी गरेको छ। निर्माण पक्षले ट्रेलर सार्वजनिक कार्यक्रममा दर्शकलाई तीजको अवसरमा परिवारसहित हल पुगेर फिल्म हेर्न आग्रह गरेको छ।