फिल्म ‘गोबर गणेश’को म्हेपी मन्दिरमा शुभमुहूर्त

काठमाडौँ। काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज फिल्म ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ।

शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित फिल्मका अधिकांश कलाकारको उपस्थिति रहेको थियो। क्यामेरा पूजा गर्दै फिल्मको पहिलो सट लिएर शुभमुहूर्तमा केदार घिमिरे ‘माग्ने बुढा’ले नरिवल फोडे भने कलाकार रवि गिरीले क्ल्याप हानेका थिए।

फिल्मको छायांकन पनि आजैबाट सुरु भएको छ। काठमाडौंबाट सुरु भएको फिल्मको छायांकन पोखरालगायतका स्थानमा हुनेछ।

करिब ३५ दिनको छायांकन सेड्युल रहेको निर्देशक श्रेष्ठले जानकारी दिए।

“आजबाट हामीले फिल्मको छायांकन सुरु गरेका छौँ। हाम्रो कला र शिपले भ्याएसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौँ,” निर्देशक श्रेष्ठले भने, “हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो, त्यस्तै माया र साथ ठूलो पर्दामा पनि पाउनेछौँ भन्ने विश्वास छ।”

मरिचमान श्रेष्ठले निर्देशन गर्ने ‘गोबर गणेश’ माघ १ गते रिलिज हुनेछ। यो उनको पहिलो फिचर फिल्म निर्देशन हो। ‘मेरी बास्सै’बाट लोकप्रिय बनेका उनले ‘हल्का रमाइलो’ र ‘जुठे’ जस्ता टेलिफिल्म निर्देशन गरेका थिए, जसले दर्शकमाझ राम्रो लोकप्रियता पाएका थिए।

बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको यस फिल्ममा वर्षा सिवाकोटी, मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)लगायत कलाकारको अभिनय रहनेछ।

तारानाथ न्यौपाने चिफ एडी रहेको यस फिल्ममा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ।

टौवा स्टुडियोले पब्लिसिटी डिजाइन गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहनेछ भने नेपालमा यसको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।