काठमाडौं। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आ बाट आमा’ मा मोडल तथा कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेल अनुबन्ध भएका छन्। उनलाई अनुबन्धसँगै फिल्मको कलाकार लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ।
सामाजिक सञ्जाल र टिकटकमा चर्चित साइग्रेसले यसअघि मोडलिङमार्फत दर्शकको मन जित्दै आएका छन्। फिल्ममा उनैलाई अनुबन्ध गरिएको केही दिनअघि मोडल तथा अभिनेत्री उषा उप्रेती पनि अनुबन्ध भएकी थिइन्।
चन्द्र पन्तको निर्देशन, कथा र पटकथामा बन्न लागेको यो फिल्म आगामी भदौ १२ गतेबाट छायांकनमा जाने तयारीमा छ। त्यसैका लागि कलाकारदेखि प्राविधिकसम्मलाई निर्माण पक्षले धमाधम अनुबन्ध गरिरहेको छ।
यसअघि नै अभिनेता पल शाह, सदाबहार अभिनेत्री विपना थापा, दक्षिण भारतीय फिल्मका खलनायकका रूपमा चर्चित प्रदीप रावत लगायतलाई फिल्ममा अनुबन्ध गरिसकिएको छ।
कृष्ण प्रसाद सुवेदी निर्मातामा रहेका यस फिल्ममा ध्रुब न्यौपाने र प्रकाश कुँवर सहनिर्माता छन् भने करण सिंह कार्यकारी निर्माता हुन्। छितिज ढुङ्गाना सह-निर्माताका रूपमा जोडिएका छन्।
फिल्मको विदेश प्रदर्शन अधिकार अस्ट्रेलिया र न्युजिल्याण्डका लागि हिमारु इन्टरटेन्मेन्ट प्रा.लिले खरिद गरिसकेको छ। नेपालमा प्रदर्शन अधिकार आरआर फिल्म्सले लिएको छ। निर्माण पक्षका अनुसार ‘आ बाट आमा’ आगामी वर्ष फागुन १५ गतेबाट देशव्यापी रूपमा रिलिज हुनेछ।
News Filmy Newsportal / Nepal