‘हरिबहादुरको जुत्ता’को पहिलो गीत सार्वजनिक

काठमाडाैं।  फिल्म ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत ‘बेला बितेसि’ सार्वजनिक गरिएको छ। गायिका समीक्ष्या अधिकारी र गायक/सर्जक प्रकाश सपुतको आवाजमा रेकर्ड गरिएको गीतमा शब्द र संगीत पनि सपुतकै रहेको छ। गीतको मिक्सिङ र मास्टरिङ श्याम स्वेत रसाइलीले गरेका हुन्।

मौलिक शैलीका लागि चर्चित सपुतले यस गीतमार्फत आफ्नै यात्रालाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गरेका छन्। मौसम हिमालीको कोरियोग्राफीमा बनेको भिडियोमा प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्काबीचको प्रेम र सम्बन्धलाई प्रस्तुत गरिएको छ। रोमान्टिक दृश्यले भरिएको भिडियोमा दुवैले दमदार अभिनय गरेका छन्। गीतको छायांकन पवन सुस्लिङले गरेका हुन्।

फिल्मलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने र कमलमणि नेपाललगायत कलाकारहरूको अभिनय रहेको छ।

दशैंको फूलपाती (असोज १३ गते) मा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म एसएम मोशन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्यको लगानीमा बनेको हो। फिल्मको छायांकन कृष्ण बहादुर थापाले गरेका हुन् भने सम्पादन नहकुल खड्काले गरेका छन्। यसका गीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको छ। 

Leave a Reply