काठमाडौं। फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’ दुई दिनमा १० लाख भ्युज पुर्याएको छ। शुक्रबार सार्वजनिक भएको यो भोजपुरी लवजको गीत डान्सिङ प्याटर्नमा तयार गरिएको छ र युवा दर्शकले खुला हृदयले स्वागत गरेका छन्। गीत मेला, महोत्सव र तराई–मधेश क्षेत्रमा विशेष मन पर्ने बताइएको छ।
गीतको शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहले दिएका छन् भने विषम आचार्यले संगीत संयोजन गरेका हुन्। आइटम डान्स जुना सुन्दासको रहेको छ भने कोरियोग्राफी रोहन विश्वकर्माले गरेका छन्।
फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुनेछ भने हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा वल्र्डवाइड रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ। फिल्म पैसाको प्रलोभनमा फस्ने व्यक्तिको संघर्षको कथा प्रस्तुत गर्ने बताइएको छ।
फिल्मको मुख्य भूमिका कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ र प्रकाश दाहालले निभाएका छन्। सुशान्त गौतमले डेब्यु निर्देशन गरेका हुन्। लेखक मुकेश खनाल, क्रिएटिभ निर्देशक मदन थापा, निर्माता विनोद पौडेल र गुञ्जन गिरी, सह–निर्माता रमेश चौलागाई र हरि श्रेष्ठ, कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
पोस्ट–प्रोडक्सन टिममा जीवन शाक्य (लाइन प्रोड्युसर), मनोज श्रेष्ठ (भिएफएक्स), सुप्रिम पराजुली (रंग सम्योजन), मदन घिमिरे (सम्पादक) रहेका छन् भने शरद महतो फिल्मको डीओपी हुन्।
News Filmy Newsportal / Nepal