काठमाडौं। नेपाली कथा साहित्यका चर्चित कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित फिल्मको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ। फिल्मलाई उत्कृष्ट बनाउन निर्माण पक्षले प्रमुख कलाकारलाई एकै ठाउँमा भेला पारेर वर्कसप थालेको हो।
वर्कसपमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपानेलगायत कलाकार सहभागी छन्। उनीहरूले आफ्नो चरित्रलाई थप जीवन्त बनाउन अभ्यास गरिरहेका छन्।
फिल्मका निर्माता सुशील पोखरेल र लेखक सुशील देवकोटा पनि वर्कसपमा उपस्थित थिए। निर्माता पोखरेलले फिल्मलाई उत्कृष्ट बनाउन आफैं प्रत्यक्ष संलग्न रहेको बताए। यस फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्नेछन्।
फिल्ममा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्द रहनेछ भने संगीत शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले दिनेछन्। निर्माण पक्षका अनुसार वरिष्ठ संगीतकार शान्ति ठटाललाई दुई महिनाअघि नै उहाँको निवासमा पुगेर संगीत प्रयोगको अनुमति लिइएको थियो।
‘परालको आगो’ को छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दीका रमणीय स्थानहरूमा सुरु हुनेछ। छायांकन संकल्प भुजेलले गर्नेछन्। फिल्मको प्राविधिक टोलीमा रामजी लामिछाने (नृत्य निर्देशन), सुलक्षण भारती (स्क्रिप्ट डक्टोरिङ), सुशील देवकोटा (लेखन) र नगेन्द्र घिमिरे (प्रोडक्सन म्यानेजर) रहेका छन्।
स्मरण रहोस्, मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथामा आधारित फिल्म ४५ वर्षअघि पनि बनेको थियो। निर्देशक प्रताप सुब्बाले बनाएको उक्त फिल्म व्यावसायिक रूपमा सफल भएको थियो। नयाँ संस्करणको प्रदर्शन मिति भने निर्माण पक्षले अझै सार्वजनिक गरेको छैन।
News Filmy Newsportal / Nepal