काठमाडौं । अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अष्ट्रेलियामा बस्दै अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छन्। यो गीतमार्फत आर्हीले संगीत क्षेत्रमा आफ्नो यात्रा सुरु गरेकी हुन्।
गीतको लेखन आर्ही र म्यागी एल बान्र्सले गरेका हुन् भने संगीत फोसिल र नेप्सेकले तयार पारेका हुन्। गायिका आर्हीका अनुसार यो गीतमा डार्क–पप, हिप–हप र नेपाली र एसियाली संगीतको प्रभाव छ।
‘टक्सिक ट्रुथ’ विषाक्त सम्बन्धको कथा हो, जहाँ देखाइने भावनाहरू सधैं सत्य हुँदैनन्, किनभने त्यहाँ गहिरो र विषाक्त सत्य लुकेको हुन्छ’, आर्हीले बताइन्। उनले भनिन्, ‘यो गीत मैले त्यतिबेला लेखेँ, जब म धेरै फरक भावनाहरू महसुस गरिरहेकी थिएँ।’
बाल्यकालदेखि संगीतप्रति लगाव रहेको आर्हीले गायनमा निरन्तरता पाएको स्मरण गराइन्। उनले भनिन्, ‘मेरो जीवनका हरेक अवस्थामा गीतले साथ दिएको छ र यही कारण म यो पेशामा अघि बढ्न चाहन्छु।’
भिडियोमा आर्ही स्वयम् फिचर्ड छिन्। दीपेन्द्र केसीले निर्देशन गरेको भिडियोमा भिएफएक्सको भरपुर प्रयोग गरिएको छ। निर्देशक केसीले भिडियोमा प्रयोग गरिएको इन्स्टलेशन आर्टले दर्शकलाई कलाकृतिमा प्रवेश गराएर भावनात्मक र सामाजिक सन्देश दिने बताए।
भिडियोको क्रिएटिभ निर्देशन दिनेशजंग राणाले गरेका छन् भने छायांकन विनोद श्रेष्ठले गरेका छन्।
भिडियो आर्हीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।