काठमाडौं । आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट ९ सेकेन्ड लामो ट्रेलरमा काठमाडौंमा बस्ने मध्यम वर्गीय परिवारको संघर्ष र श्रीमान–श्रीमतीको सम्बन्धको कथा देखाइएको छ।
निर्देशक शर्मा, मेनुका प्रधान र मिरा खड्का मुख्य भूमिकामा छन्। ट्रेलरमा यी तीन पात्रबीचको त्रिकोणात्मक सम्बन्ध प्रस्तुत गरिएको छ। यसअघि प्रायः क्लासिक भूमिकामा देखिँदै आएकी मेनुका यसपटक सामाजिक तथा सांस्कृतिक रूढीमा नबाँधिने ‘बोहेमियन’ पात्रमा देखिएकी छन्।
फिल्ममा आभास अधिकारी, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायतका कलाकारको पनि अभिनय छ। यसअघि फिल्मका ‘ऐया नि हो’ र ‘जाम त भने कुन बाटो जाम त’ गीत तथा टिजर सार्वजनिक भइसकेका छन्।
निर्देशक शर्माकै कथा रहेको फिल्मले निम्न मध्यम वर्गीय परिवारमा जन्मेका व्यक्तिले सपना पूरा गर्न भोग्ने अवरोध र मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयलाई समेटेको छ।
वेज प्रालिको प्रस्तुतिमा बनेको फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन्। सह–निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन्। फिल्मको छायांकन सरद महतो, सम्पादन विनोद पाण्डे, भिएफएक्स अविनाश नापित र साउन्ड डिजाइन विपिन स्थापितले गरेका हुन्।
News Filmy Newsportal / Nepal