काठमाडौं । जनै पूर्णिमाको अवसर पारेर नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि मुख्य पात्रले गरेको संघर्ष देखाइएको छ। कथामा मुख्य पात्र विजय बराल बाउको ऋण तिर्न कोरिया जाने उद्देश्यले घर छोड्छन्। तर काठमाडौं आएपछि ठगिँदै अड्किन्छन् र बाध्यतावश आफ्नै जीवन अरूको बन्दकमा राखेर विभिन्न काम गर्नुपर्ने अवस्था आउँछ।
कोरिया जान नसकेपछि काठमाडौंमै छटपटिँदै बस्दा उनी मिरुना मगरसँग भेट्छन् र प्रेममा पर्छन्। दिदी केकी अधिकारीको पारिवारिक पीडा, निम्नमध्यम वर्गीय नेपालीको संघर्ष र यथार्थ पनि कथामा समेटिएको छ।
फिल्ममा विजय बराल, मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायत कलाकारको अभिनय छ। निर्देशन हिमाल न्यौपानेले गरेका हुन् भने असोसियट निर्देशक ‘प्रेमगीत ३’का अभिनेता मनिष राउत हुन्।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन हुन्। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।
फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत, नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी छ। वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ।
‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आएको यो वर्षको पहिलो फिल्म हो, जुन भदौ ६ गतेदेखि प्रदर्शनमा आउदै छ ।