काठमाडौँ । फिल्म ‘मोहर’ (शुक्रबार) अर्थात आज बाट देशभर प्रदर्शनमा आएको छ। रिलिज भएको पहिलो दिनदेखि नै फिल्मले बलियो वर्ड अफ माउथ पाउँदै आएको छ भन्ने निर्माण टिमको दाबी छ।
फिल्म निर्माता चुम्बन जंग शाहीका अनुसार, बिहानैदेखि औसत अकुपेन्सीमा व्यापार गरिरहेको यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। वितरक करण श्रेष्ठले पनि आगामी दिनमा व्यापार अझ बढ्ने विश्वास व्यक्त गरेका छन्।
ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मोहर’ ले देउकी प्रथाको संवेदनशील विषय उठाएको छ। फिल्ममा पल शाह, नीति शाह र बेनिशा हमालबीचको त्रिकोणात्मक प्रेम कथाले दर्शकको मन छोएको देखिन्छ।
बिहान आयोजित विशेष शोमा सहभागी अधिकांश पत्रकार र दर्शकले ‘मोहर’ अपेक्षा गरेभन्दा राम्रो बनेको प्रतिक्रिया दिएका छन्।
शोपछि प्रतिक्रिया दिँदै अभिनेता पल शाह भावुक बने। काठमाडौंको बीग मुभिजमा आयोजित शोमा सहभागी पलले भने,
“अहिले म बोल्न सकिरहेको छैन। एउटा कलाकारका लागि निर्देशक र टिम बलियो भए काम देखाउन सकिन्छ। हामीले धेरै मिहिनेत गरेका थियौं र आजको प्रतिक्रिया देख्दा त्यो मिहिनेत सफल भएको महसुस भइरहेको छ।”
यता, अभिनेत्री नीति शाह पनि भावुक देखिइन्। अघिल्ला फिल्ममा आलोचना खेपिरहेकी नीतिले यस फिल्ममा भने प्रशंसा पाइरहेकी छन्। उनले भनिन्,
“म यही क्षेत्रमा केही गर्न चाहन्छु। त्यसका लागि मिहिनेत गर्नुपर्छ भन्ने सोचका साथ काम गरेकी हुँ।”
फिल्ममा बेनिशा हमालको अभिनयको पनि प्रशंसा भइरहेको छ। दर्शकबाट पाएको प्रतिक्रियाले आफू भावुक बनेको उनले बताइन्।
निर्माता शाहीले ‘मोहर’ ले उठाएको विषय र कलाकारहरूको मिहिनेतले फिल्मको व्यापार आगामी दिनमा अझ राम्रो हुने विश्वास व्यक्त गरे।
फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, मिथिला शर्मा, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारको अभिनय छ। फिल्म फिल्म मेकर्स प्रा.लि. को व्यानरमा निर्माण गरिएको हो।