काठमाडौँ । बलिउड अभिनेता दिपराज राणा नेपाली फिल्म ‘सुख दुःख’ मा अनुबन्ध भएका छन्। उनलाई फिल्मकी अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुबन्ध गरेको हो।
सन् २००२ मा फिल्म ‘साथिया’ बाट अभिनय यात्रा सुरु गरेका दिपराजले ‘सिंघम रिटर्न्स’, ‘प्रेम रतन धन पायो’, ‘दबंग ३’, ‘मेट्रो इन डिनो’, ‘बिल्ली उस्ताद’, ‘सितारे जमीं पर’ जस्ता बलिउड फिल्ममा काम गरिसकेका छन्। उनी स्व। श्रीकृष्ण श्रेष्ठ अभिनीत नेपाली फिल्म ‘कोहिनूर’ मा समेत देखिएका थिए।
नीता ढुङ्गानाको निर्देशनमा बन्ने ‘सुख दुःख’ को कथा मन परेर आफू फिल्ममा काम गर्न इच्छुक भएको दिपराजले बताएका छन्। निर्माण पक्षका अनुसार, कथा सुनेपछि उनी भावुक बनेका थिए। तर, फिल्ममा उनले निभाउने भूमिकाबारे खुलाइएको छैन।
आगामी फागुनदेखि छायांकन सुरु गर्ने तयारीमा रहेको फिल्ममा अभिनेत्री विपना थापालाई पनि अनुबन्ध गरिएको छ। नीता र विपनाले यसअघि फिल्म ‘ह्रस्वदीर्घ’ मा सहकार्य गरेका थिए। ‘सुख दुःख’ उनीहरूको दोस्रो सहकार्य हुनेछ।
फिल्ममा दिपराज र विपना बाहेक वरिष्ठ कलाकार मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठको पनि अभिनय रहनेछ। अन्य कलाकारहरूको टुंगो लगाउने तयारी भइरहेको निर्माण टिमले जनाएको छ।
छायांकनका लागि भारतीय छायाँकार कवीरलाल र शाहिदलाललाई अनुबन्ध गरिएको छ। नीता फिल्म्सको ब्यानरमा निर्माण हुने यो फिल्म आगामी वर्षको दशैंको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा छ।
फिल्मको वितरण अधिकार उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनी ले लिएका छन्।
News Filmy Newsportal / Nepal