काठमाडौं। फिल्म ‘माग्ने राजा’ले देशको वर्तमान अवस्था र आम जनजीवनको यथार्थता प्रस्तुत गर्ने कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले बताएका छन्।
भदौ ६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको बिहीबार ट्रेलर सार्वजनिक गरिएको हो। सो अवसरमा कलाकार घिमिरेले फिल्ममा आफूले गाउँले र सहरी दुबै जीवन शैली प्रतिनिधित्व गरेको बताए।
‘फिल्मले अहिलेको परिस्थितिलाई देखाएको छ। टोल–टोलमा देखिने राजाको कथा बोलिएको छ’, उनले भने, ‘गाउँले र सहरी दुबै भूमिकामा छु। फिल्मले पैसा, सत्ता र समाजको अवस्था प्रस्तुत गर्छ।’
फिल्मकी मुख्य अभिनेत्री वर्षा सिवाकोटीले फिल्ममा राजनीतिक पृष्ठभूमि र शक्तिको प्रयोगलाई चित्रण गरिएको जानकारी दिइन्।
‘फिल्ममा देखाइएको पात्रले शक्ति पाएपछि के–के गर्न सक्छ भन्ने देखाइएको छ। त्यो पात्र राजनीतिमा पनि छिर्छ’, उनले भनिन्।
वर्षाले फिल्ममा सपनाको पछाडि लागेका भुइँमान्छेको कथा पनि समेटिएको बताइन्। ‘केदार दाइको सपना कसरी अघि बढ्छ भन्ने कथा फिल्ममा छ,’ उनले भनिन्।
ऋषि लामिछाने निर्देशित फिल्ममा केदार र वर्षासँगै विल्सनविक्रम राई, शिशिर वाङ्देल, शारदा गिरीलगायतको अभिनय छ।
News Filmy Newsportal / Nepal