‘हरिबहादुरको जुत्ता’को अर्को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं। फिल्म ‘हरिबहादुरको जुत्ता’को अर्को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले सार्वजनिक गरेको नयाँ  पोस्टरमा कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ।

पोस्टरमा हरिवंश ‘हरिबहादुर’को भूमिकामा देखिएका छन्। प्रकाश सपुत केही रुष्ट मुद्रामा छन् भने स्वस्तिमा मन्द मुस्कानमा प्रस्तुत भएकी छन्। उक्त पोस्टरले फिल्म पारिवारिक तथा मनोरञ्जनात्मक हुने संकेत दिएको छ।

दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा हरिवंश, स्वस्तिमा र प्रकाशका साथै प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले र कमलमणि नेपालको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। कृष्ण बहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको फिल्ममा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर रहेको छ।

फिल्म दशैंको फूलपाती (असोज १३ गते) बाट देशभर प्रदर्शनमा आउने जनाइएको छ।