‘सुख दुःख’ मा विपना थापा अनुबन्ध

काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्ने फिल्म ‘सुख दुःख’ मा अभिनेत्री विपना थापा अनुबन्धित भएकी छन् । निर्माण टिमले बुधबार उनलाई अनुबन्ध गरेको हो ।

यसअघि फिल्म ‘ह्रस्वदीर्घ’ मा सहकार्य गरिसकेका नीता र विपनाको यो दोस्रो सहकार्य हो । विपनाले फिल्मको कथा सुन्नासाथ आफू भावुक बनेको बताउँदै निर्देशक नीतासँग पुनः सहकार्य गर्न पाउँदा उत्साहित भएको बताइन् ।

निर्देशक नीताले पनि आफ्नो फिल्ममा विपनालाई अनुबन्ध गर्न पाउँदा खुशी लागेको बताउँदै फिल्ममा उनको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् । यसअघि नीताले मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठलाई कलाकारको रूपमा अनुबन्ध गरिसकेकी छन् । अन्य कलाकार तथा प्राविधिकबारे क्रमशः जानकारी दिइने निर्देशक अधिकारीले जनाइन् ।

नीता फिल्म्स को ब्यानरमा निर्माण हुने फिल्म ‘सुख दुःख’ आगामी फागुनबाट छायाङ्कनमा जानेछ । फिल्मको छायाङ्कन भारतका चर्चित छायाँकार कवीरलाल र शाहिदलालले गर्नेछन् । फिल्म दशैँको फूलपातीबाट प्रदर्शनमा आउनेछ । उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण अधिकार लिएका छन् ।

Leave a Reply