काठमाडौं। यहि शुक्रबार अर्थात साउन २३ गते बाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘सिटामोल’ को अग्रीम टिकट बुकिङ खुला गरिएको छ। देशभरका अधिकांश मल्टिप्लेक्स हलले बुकिङ खुला गरिसकेका छन् भने केही हलमा खुल्ने तयारी भइरहेको निर्माण टिमले जनाएको छ।
प्रचार सामग्रीले दर्शकमाझ बनाएको उत्साहजनक हाइपका आधारमा मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म फिल्मलाई राम्रो शो प्राप्त भएको छ। बुकिङमा दर्शकको चाप देखिएपछि शो क्रमशः थपिने निर्माण पक्षको विश्वास छ।
क्यूएफएक्सले काठमाडौं उपत्यकामा १५ र मोफसलमा १६ गरी कुल ३१ शो उपलब्ध गराएको छ। आइएनआई सिनेमाजले ११, बिग मुभिजले २, एफक्यूबले ३, बिएसआर मूभिजले २, वान सिनेमाजले ६, सिने डी सेफले ३ र किर्तिपुर सिनेप्लेक्सले २ शो उपलब्ध गराएका छन्।
रञ्जना, विश्वज्योति र सिके सिनेमाजसहित देशका धेरै सहरमा बुकिङ खुल्ने चरणमा रहेकाले ‘सिटामोल’ले शुक्रबारसम्म करिब १५० भन्दा बढी शोमा प्रदर्शन हुने अपेक्षा गरिएको छ।
राज बहादुर साने निर्देशित फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल लगायतको अभिनय छ। श्रीकृष्ण र जानुकाको यो डेब्यु फिल्म हो।
तुल्सी देवी फिल्म प्रा.लि. र जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भण्डारी र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्मका निर्माता भुगोल कुमार कार्की र विकास राज जोशी हुन्। कार्यकारी निर्माता अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी तथा सह–निर्माता गंगाराम श्रेष्ठ रहेका छन्।
फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डीआई कलर, मुकेश शाहको साउण्ड डिजाइन, देव र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। दिव्य सुवेदीले छायांकन गरेका हुन्।