‘बलिदान’ फिल्मका चार प्रमुख पात्रको पोस्टर सार्वजनिक

काठमाडौं। वडादसैँको फूलपातीको अवसरमा प्रदर्शन हुने तयारीमा रहेको  फिल्म ‘बलिदान’ ले प्रचार अभियानलाई तीव्र बनाउँदै चार प्रमुख पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ।

बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र निर्देशक सन्तोष सेनको लुक्स पहिलोपटक सार्वजनिक गरिएको हो। निर्देशक सेनका अनुसार, टिजर सार्वजनिक हुनु अगावै कथामा प्रभाव पार्ने पात्रहरूलाई दर्शकसामु प्रस्तुत गरिएको हो।

फिल्ममा संवेदनशील भूमिकामा अर्पण थापा, समाजको प्रतिनिधित्व गर्ने भूमिकामा ऋचा शर्मा, खलनायकको रूपमा हेमन्त बुढाथोकी र कथासँगै समाजलाई परिभाषित गर्ने पात्रमा सन्तोष सेन स्वयं प्रस्तुत हुनेछन्।

यसअघि प्रमुख कलाकार समीर भट्ट र कविता रायको पोस्टर सार्वजनिक भइसकेको छ। साथै, समीरको जन्मदिनमा सार्वजनिक गरिएको प्रि–टिजर र सौगात मल्लको रहस्यमय लुक्स सार्वजनिक गरिएको पोस्टरले पनि चर्चा पाएको थियो।

निर्देशक सेनका अनुसार, ‘बलिदान’ फरक कथावस्तु, सशक्त प्रस्तुति र भावनात्मक गहिराइका माध्यमबाट नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको हो।

‘आसुसेन फिल्म्स् प्रा.लि.’ को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्।