नयाँ फिल्म ‘ताराहरू’ सेन्सरबाट ‘यू’ सर्टिफिकेट प्राप्त, भदौ ६ देखि प्रदर्शन

काठमाडौँ। वेब प्रालिको प्रस्तुति रहेको नयाँ फिल्म ‘ताराहरू’ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ। यसले फिल्म सबै उमेरका दर्शकले हेर्न मिल्ने भएको छ।

फिल्म भदौ ६ गतेदेखि देशभर प्रदर्शन हुनेछ र २ घण्टा २९ मिनेट लामो छ।

फिल्ममा आशान्त शर्मा, मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायत कलाकारहरूले अभिनय गरेका छन्।

गोपिनी सेढाईँ र कृष्णप्रसाद पंगेनी निर्मातामा रहेका छन् भने निर्देशन अभिनेता आशान्त शर्माले गरेका हुन्। पोस्टर डिजाइन रसिक राजले गरेका छन्।

निर्देशक शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथा हो, जुन डार्क कमेडी शैलीमा प्रस्तुत गरिएको छ। मुख्य कथावस्तु श्रीमान–श्रीमतीको सम्बन्ध भए पनि फिल्ममा किशोर किशोरीहरूका पात्र पनि छन्, जसले सबै उमेर र वर्गका दर्शकका लागि मनोरञ्जनात्मक र प्रेरणादायी बनाउन सहयोग गरेको छ।

फिल्मले मध्यम वर्गीय परिवारका सदस्यहरूले आफ्ना सपना र आकांक्षा पूरा गर्ने क्रममा भोग्ने संघर्ष र मानसिक चुनौतीहरूलाई चित्रण गरेको छ।