काठमाडौं। फिल्म ‘परिवर्तन’को छायाङ्कन ५६ दिनमा सम्पन्न भएको छ। निर्माता दीपक सिवाकोटीका अनुसार अब एक राष्ट्रिय र एक लोकगीतको छायाङ्कन मात्र बाँकी छ।
विजय केरुङको निर्देशनमा तयार भइरहेको फिल्मको छायाङ्कन झापाको बुद्धशान्ति, कचनकवल, भद्रपुर, अर्जुनधारा, बिर्तामोड, मेचीनगर तथा विराटनगरमा गरिएको हो।
सुशील श्रेष्ठ र अञ्जना बराइली मुख्य भूमिकामा छन्। अन्य कलाकारमा करिश्मा मानन्धर, बुद्धि तामाङ, गौतम तिवारी, आशा पौडेललगायत छन्।
‘दिव्यासी फिल्म्स’को ब्यानरमा निर्माण गरिएको फिल्मले सीमा सुरक्षा, भ्रष्टाचार र सर्वसाधारणको पीडालाई कथामा उतारेको छ। कथा निर्माता सिवाकोटीले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन्।
फिल्म यसै वर्ष प्रदर्शन गर्ने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।
News Filmy Newsportal / Nepal