‘कोशेढुङ्गा’ को नयाँ गीत ‘भंगेरा भंगेरी’ सार्वजनिक

काठमाडौं।  नेपाली फिल्म ‘कोशेढुङ्गा’ को नयाँ गीत ‘भंगेरा भंगेरी’ सार्वजनिक गरिएको छ। तीज लक्षित डान्सिङ नम्बर सार्वजनिक गरेपछि निर्माण टिमले प्रेमिल भाव बोकेको यो नयाँ गीत सोमबार सार्वजनिक गरेको हो।

गीतमा मायालु जोडीबीचको सम्बन्ध, भविष्यप्रतिको चिन्ता, रोजगारीको अन्योल र जीवनयापनको यथार्थतालाई चित्रण गरिएको छ। सरकारी जागिर, तलब, जिम्मेवारीसँग गाँसिएको कथावस्तु प्रस्तुत गरिएको यो गीतमा भंगेरा र भंगेरी (पक्षी) प्रतीकको रूपमा प्रयोग गरी युवाको प्रेम र सपना उजागर गरिएको छ।

गीतमा रिदम कँडेल र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ भने संगीत पनि रिदम कँडेलकै रहेको छ। शब्द बिदुर तिमल्सिना ‘देवदूत’ ले लेखेका हुन्। भिडियोमा सुरक्षा पन्त र मन्जिल कुमारको अभिनय तथा नृत्य देख्न सकिन्छ।

यसअघि सार्वजनिक भएको ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत सामाजिक सञ्जाल विशेषगरी टिकटकमा भाइरल बनेको निर्माण पक्षको दाबी छ।

सरोज पौडेल निर्देशित फिल्म ‘कोशेढुङ्गा’ आगामी भदौ १२ गते (२०२५ अगस्ट २८) देशभर प्रदर्शनमा आउँदैछ। यसअघि ‘पूर्ण बहादुरको सारंगी’ निर्देशन गरिसकेका पौडेलको यो दोस्रो निर्देशन हो।

फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले र लोकमणि सापकोटालगायत कलाकारको अभिनय रहेको छ।

नरदेवी फिल्म्सको प्रस्तुति र सारंगी फिल्म्सको सहकार्यमा बनेको यो फिल्मका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन्। कार्यकारी निर्माता दिनेश खड्का हुन्। छायांकन बाबु श्रेष्ठ, सम्पादन नहकुल खड्का, संगीत रिदम कँडेल र आशिष अविरल, र कास्टिङ डाइरेक्टर सुवलमणि सापकोटा रहेका छन्।

फिल्म नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शन हुने तयारीमा रहेको निर्माण टिमले जनाएको छ। अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज इन्टरनेसनलमार्फत प्याट्रिक सुवेदी र रमेश ढकालले लिएका छन्। निर्माण पक्षका अनुसार, नेपाली फिल्म इतिहासमै पहिलोपटक यति धेरै देशमा एकैपटक फिल्म रिलिज हुन लागेको हो।