‘अभिमन्यु: च्याप्टर–१’ को गीत ‘माली’ सार्वजनिक

काठमाडौं । फिल्म ‘अभिमन्यु: च्याप्टर–१’ को गीत ‘माली’ सार्वजनिक गरिएको छ । प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वरमा तयार भएको गीतमा दाजु–बहिनीबीचको निश्चल सम्बन्ध र माया प्रस्तुत गरिएको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् ।

रक्षाबन्धनलाई लक्षित गरेर ल्याइएको गीतमा बहिनीप्रतिको दाजुको माया र जिम्मेवारीको कथा छ । गीत सार्वजनिक गर्दै निर्माण पक्षले भिडियो प्रतिस्पर्धा पनि खुला गरेको छ । रक्षाबन्धनको राखीसहितको भिडियो सेयर गर्न आह्वान गर्दै उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

फिल्म ‘अभिमन्यु: च्याप्टर–१’ भदौ २७ गते नेपाली संस्करणमा र असोज ६ गते (सेप्टेम्बर २२) मा हिन्दी संस्करण वर्ल्डवाइड रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो ।

फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन् ।

लेखन मुकेश खनालको, क्रिएटिभ निर्देशन मदन थापाको, निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ, कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।

फिल्मको लाइन प्रोड्युसर जीवन शाक्य, भिएफएक्स मनोज श्रेष्ठ, रंग संयोजन सुप्रिम पराजुली, सम्पादन मदन घिमिरे, छायांकन शरद महतोले गरेका छन् ।