धिरज र उपासनाको ‘जलाकी’ को पोस्टर रिलिज

काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘जलाकी’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा दुई फरक मूड र प्रेमभाव देखाइएको छ – एकमा परम्परागत प्रेमको पीडा र त्याग, अर्कोमा आधुनिक प्रेमको आत्मीयता र उज्यालो भविष्यको संकेत।

‘खुस्मा’बाट चर्चा कमाएका निर्देशक अशोक थापा मगरको निर्देशनमा बन्ने यो फिल्मको दोस्रो चरणको छायांकन असोज २१ गतेबाट सुरु हुँदैछ। ‘खुस्मा’मै धिरजसँग स्क्रिन सेयर गरेकी उपासना यसपटक पनि उनीसँगै देखिने भएकी छन्, जसले दर्शकलाई यो जोडीप्रति झनै आकर्षित बनाएको छ।

मगर र गुरुङ समुदायको संस्कृति झल्काउने फिल्म ‘जलाकी’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ। मिस सिक्किम साहारा हाङमा लिम्बुको डेब्यु रहेको फिल्ममा शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचनलगायतको अभिनय रहनेछ। रुकुम, रोल्पा, म्याग्दी, पोखरा र दक्षिण कोरियामा छायांकन गरिने यो फिल्म भावनात्मक र सांस्कृतिक संयोजन प्रस्तुत गर्ने लक्ष्यमा छ।

Leave a Reply