दिया श्रेष्ठले जितिन ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को ताज

काठमाण्डौं । अमेरिकाको न्यूयोर्कमा शनिबार राति सम्पन्न मिस नेपाल नर्थ अमेरिका २०२५ को ८औं संस्करणमा न्यू जर्सीकी २२ वर्षीया दिया श्रेष्ठ विजेता घोषित भएकी छन्। उनले अमेरिका भरिबाट सहभागी भएका अन्य १८ प्रतिस्पर्धीलाई पछि पार्दै यो प्रतिष्ठित ताज आफ्नो पोल्टामा पारिन्।

प्रतियोगितामा टेनेसी राज्यकी कृष्मा सुबेदी फर्स्ट रनरअप घोषित भइन् भने टेक्सासकी आर्या कोइराला सेकेन्ड रनरअप बनिन्। कार्यक्रम मेलरोज बालरुम, न्यूयोर्क मा भव्य रूपमा सम्पन्न भएको हो । यस वर्ष सबैभन्दा धेरै प्रतिस्पर्धी टेक्सास राज्यबाट सहभागी भएका थिए, जहाँबाट ७ जनाले अन्तिम चरणमा स्थान बनाएका थिए। त्यस्तै न्यूयोर्कबाट ४ जना, कोलोराडोबाट २ जना तथा अन्य ६ राज्यबाट १–१ जना गरी कुल १९ प्रतियोगीहरूको छनोट भएका थिए।
 
प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेत्री आँचल शर्मा तथा अभिनेताद्वय अनुप विक्रम शाही र प्रदीप खड्का सहित राजेन्द्र श्रेष्ठ, बासु फुलारा, मिस नेपाल नर्थ अमेरिका २०२३ जुब्ली शेर्पा, डा. दिलाशा न्यौपाने, स्नेहा श्रेष्ठ र दिनेश चुञ्चरी रहेका थिए।कार्याक्रमको संचालन भने सगारिका श्रेष्ठ र सुरेश शाहीले गरेका थिए भने कोरियोग्राफी चाही पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले गरेकी थिइन् ।                               आयोजक संस्था ड्रिम्स युनिभर्सल एलएलसी का सीईओ शैलेन्द्र श्रेष्ठ का अनुसार, प्रतियोगिताको शीर्ष विजेता दिया श्रेष्ठले अब सन् २०२६ मा नेपालमा आयोजना हुने मिस नेपाल प्रतियोगिताको फाइनल राउन्डमा सिधा प्रवेश पाउनेछिन्। यो अवसर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली युवतीहरूलाई मिस नेपालको मञ्चमा पुर्‍याउने सेतुको रूपमा लिइएको छ।

Leave a Reply