दोश्रो पटक हिटको ह्याट्रिकको अपेक्षामा मिरुना मगर : जनै हराएको मान्छे के होला ?

काठमाडौँ। नेपाली फिल्म उद्योगकी लोकप्रिय नायिका मिरुना मगर आफ्नो अभिनयबाट लगातार सफलता पाइरहेकी छिन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ जस्ता फिल्मले उनलाई राम्रो व्यापार र प्रशंसा दिलाएका थिए।

यद्यपि ‘रङ्गेली’ र ‘मनसरा’ त्यति चल्न सकेनन्, तर ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ले पुनः उनको सफलताको कहानी लेखे ।

अब मिरुनाको नयाँ फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते प्रदर्शनमा आउँदैछ । यो फिल्म सफल भयो भने मिरुनाले दोस्रो पटक हिटको ह्याट्रिक पूरा गर्ने मौका पाउनेछिन् ।

फिल्मले नेपाली समाजका गहिरा भावनात्मक र सामाजिक विषयलाई छोएको छ । निर्देशक हिमाल न्यौपानेले फिल्म निर्देशन गरेका छन् भने ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत सहायक निर्देशक हुन्।

मनिष राउतका अनुसार, “यो फिल्मले निम्न र मध्यम वर्गीय नेपालीहरूको जीवन र सम्बन्धका समस्या उजागर गर्छ, जुन सबै वर्गको साझा कथा हो ।”

फिल्ममा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा लगायत कलाकारको अभिनय छ ।

पेपरक्लिप ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता कमल र विमल न्यौपाने हुन् भने संगीतमा थानेश्वर गौतम र अर्जुन पोखरेलको मुख्य भूमिका छ ।

छायांकन नवीन गुरुङ र कृष्ण परियारले गरेका छन् । कथानक, पटकथा र संवाद भानुभक्त ढकालले तयार पारेका हुन् ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ यस वर्ष विजय बरालको मुख्य भूमिकामा उनको पहिलो ठूलो प्रस्तुति पनि हो ।

Leave a Reply