काठमाडौँ। शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रदर्शन सोमबारदेखि स्थगित गरिएको छ। रेबेल फिल्म्स प्रा.लि.को निर्माणमा बनेको फिल्मलाई हलहरूले राम्रो शो नदिएको भन्दै प्रदर्शन रोक्ने निर्णय लिइएको हो।
निर्माण पक्षले आइतबार जारी विज्ञप्तिमा दर्शकको सकारात्मक प्रतिक्रिया आए पनि हलले उपयुक्त शो नदिएको गुनासो गरेको छ। “बारम्बार अनुरोध गर्दा पनि बेवास्ता गरिएकाले यस्तो कठोर निर्णय लिन बाध्य भयौं,” विज्ञप्तिमा उल्लेख छ। निर्माण पक्षले दर्शकसँग असुविधाप्रति क्षमा मागेको छ।
विभोर पोखरेल निर्देशित फिल्मले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको जीवन संघर्षलाई प्रस्तुत गरेको छ।
फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर र विशाल थापाको अभिनय छ।