‘सिनेपा:’ स्टुडियोका लागि निर्माण प्रस्ताव माग

काठमाडौँ। चलचित्र विकास बोर्डले वनेपा नगरपालिका–१०, जनगल, काभ्रेपलाञ्चोकमा निर्माण हुन लागेको अत्याधुनिक इनडोर चलचित्र स्टुडियो ‘सिनेपा:’ का लागि दोस्रो चरणको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। आज (२०८२ साउन १८) गोरखापत्र दैनिकको पृष्ठ १० मा प्रकाशित सूचनामार्फत इच्छुक निर्माण कम्पनीहरूलाई ३० दिनभित्र ई–बिडिङ प्रणालीमार्फत प्रस्ताव पेश गर्न आग्रह गरिएको हो।

बोलपत्र विवरणअनुसार, स्टुडियो निर्माणको ठेक्का पहिचान नम्बर FDB/Indoor Film Studio/W/NCB/01/2082-083 रहेको छ। परियोजनामा सहभागी हुन चाहने कम्पनीहरूले रु. ३६ लाखको बोलपत्र सुरक्षा रकम र रु. १० हजारको दस्तावेज शुल्क बुझाउनु पर्नेछ। विस्तृत जानकारी बोर्डको वेबसाइट www.fdbnepal.gov.np तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मा उपलब्ध छ।

यसअघि, २०८१ माघ २७ गते चलचित्र विकास बोर्डले पहिलो टेन्डर आह्वान गरेको थियो। बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार ‘सिनेपा:’ नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो इनडोर छायांकन स्टुडियो हुनेछ। निजी क्षेत्रमा केही स्टुडियोहरू रहेका भए पनि सरकारी स्वामित्वमा यस्तो स्तरीय स्टुडियो पहिलोपटक बन्ने हो।

कुल ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने यस स्टुडियोले स्वदेशी चलचित्र निर्माताहरूलाई प्रविधियुक्त, गुणस्तरीय र लागत–मैत्री छायांकन स्थल उपलब्ध गराउनेछ। वर्षौँदेखि योजना स्तरमै रहेको यो परियोजना हालै निर्माण चरणमा प्रवेश गरेको हो।

२०८२ वैशाख ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवासमा आयोजित विशेष कार्यक्रममा ‘सिनेपा:’ स्टुडियो निर्माण सुरु भएको औपचारिक घोषणा गरेका थिए।
प्रधानमन्त्री ओलीले यसलाई नेपाली चलचित्र क्षेत्रका लागि “एक प्रकारको क्रान्ति” भनेका थिए। “छ दशकअघिको सपना अब साकार हुँदैछ। राज्यसँग धेरै बजेट नभए पनि सुरु गरिएका कामहरू पूरा हुन्छन्। सिने क्षेत्रप्रति हाम्रो प्रतिबद्धता दृढ छ,” उनको भनाइ थियो।

‘सिनेपा:’ को निर्माणले नेपाली चलचित्र उद्योगमा अत्यावश्यक आधुनिक छायांकन पूर्वाधारको अभाव पूर्ति गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply