काठमाडौं । फिल्म ‘क्याप्टेन साब’को छायांकन राजधानीको तीनकुनेमा विशेष सेट निर्माण गरी सुरु गरिएको छ । काठमाडौंको अतीत — विशेषगरी वि.सं. २०३० र ४० को दशक — जीवित पार्ने उद्देश्यले बनाइएको सेटमा अहिले धमाधम सुटिङ भइरहेको छ ।
तीनकुनेमा निर्माण गरिएको सेटमा पुराना शैलीका सेता घरहरू, सडकमा चल्ने पुराना गाडी, खर्पन र डोको बोकेका नेवार व्यापारीहरू, र ती समयअनुसारको लुगाफाटा देख्न सकिन्छ । फिल्मको समयलाई यथार्थपरक बनाउन निर्माण टोलीले त्यस युगको मुड दिने वातावरण तयार पारेको छ ।
“हामी ३०/४० को दशकको काठमाडौं देखाउन खोजिरहेका छौं । सहरभित्र त्यस्तो माहोल सिर्जना गर्न असम्भव त थियो, तर हामीले रंग, कस्ट्युम र डिजाइनमार्फत त्यो अनुभूति दिने प्रयास गरेका छौं,” निर्देशक दीपेन्द्र के खनाल भन्छन्, “सस्तो देखिने चिट शैली होइन, वास्तविकता झल्काउने दृश्य तयार गरेका छौं ।”
फिल्मको कथा जुन कालखण्डमा आधारित छ, त्यसै अनुरूपको दृश्य निर्माण गरिएको निर्देशक खनालले बताए । “हाम्रो सीमित बजेट भए पनि शिल्प र मेहनतले भरपूर प्रयास गरिरहेका छौं,” उनले भने ।
फिल्म ‘क्याप्टेन साब’को छायांकन साउन १० गतेदेखि सुरु भइसकेको छ । काठमाडौंपछि काभ्रेको धुमखर्क, बेथानचोक, चितवन र वीरगञ्जमा छायांकन हुने योजना छ ।
यो फिल्म क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित बायोपिक हो । पाइलट, सञ्चार उद्यमी र व्यवसायीको रूपमा परिचित थापाको प्रेरणादायी यात्रा फिल्ममार्फत देखाइनेछ ।
खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइलीले मुख्य भूमिका निभाउने फिल्मको निर्माणमा निर्देशक दीपेन्द्र के खनालसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । सिर्जना नापित कार्यकारी निर्माताको रूपमा आवद्ध छन् ।