‘बुकी’को फस्टलुक सार्वजनिक

काठमाडौँ। मोहन केसीको निर्देशनमा बनेको फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्सको प्रस्तुति रहेको फिल्मको पोस्टर शनिबार सार्वजनिक गरिएको हो।

पोस्टरमा बुकी फूल, कुहिराले ढाक्न लागेको लेकाली चौर, र भलिबल खेलिरहेका सात महिला र एक पुरुष देखिन्छन्। नेट र कोर्टसमेत देखिएकाले उनीहरू महिला भलिबल प्रतियोगिताको तयारीमा रहेको अनुमान गर्न सकिन्छ।

बुकी फूल हिमाली पाटनमा वर्षायाममा फुल्ने फूल हो। पाटनलाई स्थानीय भाषामा बुकी भन्ने गरिन्छ। फिल्मले खेलकुद र प्रकृतिबीचको सम्बन्धको कथा प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ।

फिल्ममा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, अनु दाहाल, सन्दीप बाबु लोहनी, निशा बजगाईं लगायतको अभिनय रहेको छ।

कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन्। निर्माता लक्ष्मण सापकोटा, अमिशा काउचा थापा र रमेश थापा हुन्।

डीओपी विकास गन्दर्भ, सम्पादन भुपेन्द्र अधिकारी, संगीत दीपक शर्मा र एचबीएन किस्मतको रहेको छ।

फिल्मको छायांकन काठमाडौं, पोखरा र बागलुङको ढोरपाटन क्षेत्रमा गरिएको हो। प्रदर्शन मिति तय नभए पनि निर्माण पक्षले २०२६ भित्र फिल्म रिलिज गर्ने तयारी गरेको छ।