दिपाश्री र रातामकैको अभिनयमा तीज गीत

काठमाडौँ। तीज पर्वलाई लक्षित गर्दै गायिका तथा समाजसेवी धनकुमारी थापा ‘सरु’ ले नयाँ तीज गीत ‘टिकटकले भाइरल बनायो’ सार्वजनिक गरेकी छन्। गीतको भिडियोमा चर्चित हास्य कलाकार किरण केसी ‘रातामकै’ र दिपाश्री निरौला अभिनीत छन्।

शुक्रबार काठमाडौंमा आयोजित विशेष विमोचन समारोहमा वरिष्ठ गायक बमबहादुर कार्कीले प्रमुख अतिथिको रूपमा गीत सार्वजनिक गरे। उनले गीतको शब्द, संगीत र अभिनयको खुलेर प्रशंसा गरे। “आजकाल गीतको शैली र शब्द समयअनुसार बदलिँदै गएको छ। डिजिटल प्लेटफर्मले नेपाली गीत–संगीतको प्रवर्द्धनमा उल्लेखनीय योगदान दिइरहेका छन्,” उनले भने, “‘टिकटकले भाइरल बनायो’ गीत डिजिटल प्लेटफर्म भित्र र बाहिर दुवैतिर चर्चित बन्न सक्छ।”

विमोचन समारोहमा फिल्म निर्देशक तथा नायिका दिपाश्री निरौलाले गीतको शब्द, संगीत र स्वरले आफूलाई अभिनयका लागि आकर्षित गरेको बताइन्। हास्य कलाकार किरण केसीले भने, “जनजिब्रोमा झुन्डिने खालको रमाइलो गीत भएकाले म अभिनय गर्न तयार भएँ।”

गायिका थापा ‘सरु’ले टिकटकलाई गलत प्रयोग गर्नुभन्दा सकारात्मक सन्देश प्रवाह गर्ने माध्यम बनाउनु आवश्यक रहेको धारणा राखिन्। “गीतमार्फत तीज पर्वलाई शिष्ट र मर्यादित ढंगले मनाउन सन्देश दिन खोजिएको छ,” उनले भनिन्।

धनकुमारी थापा ‘सरु’ र मनोजसिंह धामीको स्वरमा रहेको उक्त गीतमा शब्द, संगीत मनोजसिंह धामीकै रहेको छ। प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा दिपाश्री निरौला, किरण केसी, धनकुमारी थापा, मनोजसिंह धामी लगायतका कलाकारको रोमान्चक नृत्य र अभिनय देख्न सकिन्छ।

Leave a Reply