दयाहाङको ‘मिरमिरे’ माघ १ गते रिलिज हुने

काठमाडौँ। यम शेर्पाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मिरमिरे’ को रिलिज मिति तय गरिएको छ। निर्माण पक्षले यो फिल्म माघ १ गते देशभर प्रदर्शनमा आउने निर्णय गरेको छ।

रिलिज मिति नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसरमा तय गरिएको हो। निर्देशक यम शेर्पाले भने, “वितरक र प्रदर्शकसँगको सल्लाहपछि माघ १ गते रिलिज गर्ने निर्णय गरेका हौँ।”

अहिले फिल्मको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ। असार २१ गतेबाट सुरु भएको सुटिङ करिब दुई साताभित्र सकिने निर्माण टिमले जनाएको छ। फिल्मका अधिकांश दृश्य काभ्रेपलाञ्चोकमा खिचिएको र केही चित्लाङमा भएको छ।

यार्सा फिल्म्स को प्रस्तुति रहेको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिका निभाएका छन्। साथै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकार पनि छन्। बालकलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल रहेका छन्।

दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो भने निर्देशक यम शेर्पाले दयाहाङसँग दोस्रो पटक काम गरिरहेका छन्। यमको पहिलो निर्देशन ‘कार्साङ’मा पनि दयाहाङ मुख्य भूमिकामा थिए।

फिल्मको कथा र निर्देशन यम शेर्पाले गरेका हुन् भने छायांकन आलोक शुक्लाले गरेका छन्। निर्मातामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा रहेका छन्। सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्। कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक रोहित कट्टेल हुन्।

बिरेन्द्र शाही लाइन प्रोड्युसर, सुदिप कुँवर सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिष्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।

फिल्मको वितरण देशभर आरआर फिल्म्स ले गर्नेछ।