काठमाडौँ। नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ। विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरुले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यो फिल्मको नाम राखिएको हो। सोही कारण यो फिल्म सांस्कृतिक चेतनाले भरिएको हुन सक्ने बुझिएको छ।
रन्जन रिजालको प्रस्तुतिमा निर्माण हुने यो फिल्मबाट उनी फिल्म निर्माणमा डेब्यु गर्न लागेका हुन्। २०६२/६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय रहेका रिजालले सयौं भिडियोमा अभिनय गर्दै सशक्त छवि बनाएका छन्।
‘नाई नभन्नु ३’ र ‘समभर लभ’ जस्ता सफल फिल्म निर्देशन गरेका मुस्कान ढकाल यो फिल्मका निर्देशक हुन्। नेपाली युवा निर्देशकहरूमा सम्भावना बोकेका ढकालले यो पटक सांस्कृतिक र पारिवारिक कथामा आधारित फिल्म निर्देशन गर्न लागेका छन्।
नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानीमा निर्माण गर्न लागिएको हो। फिल्मको छायांकन आगामी तिहार लगत्तै सुरु हुनेछ। साउन १६ गते आज शुक्रवार निर्माण टिमले टाइटल सार्वजनिक गरेको हो। अहिले कलाकार छनोट र प्राविधिक तयारी अघि बढिरहेको निर्माण टिमले जनाएको छ।
प्रस्तुतकर्ता रन्जन रिजाल भन्छन्, ‘नेपाली दर्शकहरूले नेपाली परिवेश, भाषा र मौलिक कथावस्तुमा बनेका फिल्म बढी रुचाउँछन्। त्यसैले हामीले पनि दर्शकको चाहना अनुसार फिल्मको विषयवस्तु र प्रस्तुति तयार गर्न थालेका हौं।’
निर्देशक मुस्कान ढकालका अनुसार हाल फिल्मको लोकेशन र कलाकार फाइनल गर्ने काम सुरु भएको छ। फिल्मले नेपाली संस्कृति र मनोरञ्जनलाई सन्तुलित ढंगले प्रस्तुत गर्ने लक्ष्य लिएको निर्देशक ढकाल बताउँछन्।
News Filmy Newsportal / Nepal