काठमाडौँ। हरिवंश आचार्य अभिनीत नयाँ नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा हरिवंश आचार्यलाई एकल रूपमा प्रस्तुत गरिएको छ, जसले फिल्ममा उनको पात्र प्रमुख रहेको संकेत गर्छ।
हरिवंशले टेलिभिजनमार्फत लोकप्रिय बनाएको ‘हरिबहादुर’ पात्रको झल्को दिने शैलीमा पोस्टर तयार गरिएको छ। पोस्टरको डिजाइन शान थापा र विजय वस्यालले गरेका हुन्।
दिपेन्द्र के. खनालको निर्देशनमा तयार भएको यो फिल्म दशैंको फूलपाती (असोज १३ गते) बाट प्रदर्शनमा आउँदैछ। फिल्ममा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, किरण केसी, दिव्य देव, राजाराम पौडेल, दिनेश काफ्ले र कमलमणि नेपालको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्। फिल्मको छायांकन कृष्णबहादुर थापाले गरेका हुन् भने सम्पादन नकुल खड्काले गरेका छन्।
फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको छ। गीतहरूमा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर समावेश छ।
News Filmy Newsportal / Nepal