‘रियाल रिङ्गेट’ रिलिज, तर बुकिङ भने कमजोर

काठमाडौं । निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ शुक्रबार (साउन १६) आज बाट देशभर प्रदर्शनमा आएको छ। यथार्थ घटनामा आधारित भए पनि फिल्मको पहिलो दिनको बुकिङ उत्साहजनक देखिएको छैन।

फिल्मले वैदेशिक रोजगारीको सपना बोकेर घर छोड्ने नेपाली युवाहरूको संघर्ष र पीडालाई मूल कथावस्तु बनाएको छ। साउदी अरेबिया, कतार र मलेसियाजस्ता देशमा पुगेका श्रमिकहरूले भोग्ने शोषण, धोका र जीवन संकटलाई फिल्मले संवेदनशील ढंगले चित्रण गरेको छ।

“जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, त्यसैसँग जिन्दगी पनि उड्यो” भन्ने ट्यागलाइनले फिल्मको भावनात्मक पक्षलाई झल्काउँछ।

फिल्ममा निता ढुङ्गाना, प्रमोद चौलागाईं, ध्रुव कोइराला र रविन्द्र खड्का लगायतका कलाकारहरूको अभिनय रहेको छ। कथा प्रदीप भारद्वाजले लेखेका हुन् भने निर्माता गगनलाल प्रधान हुन्।

‘रियाल रिङ्गेट’ शीर्षकले साउदी अरेबिया र मलेसियाको मुद्रालाई मात्र होइन, ती देशहरूमा पसिना बगाइरहेका लाखौं नेपाली श्रमिकहरूको प्रतिनिधित्व समेत गर्छ। निर्माण पक्षले फिल्मले दर्शकको मन छुने विश्वास व्यक्त गरेको छ, यद्यपि प्रारम्भिक बक्स अफिस प्रतिक्रिया भने कमजोर देखिएको छ।