काठमाडौँ। कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई समेटेर नयाँ नेपाली फिल्म ‘रेलको बाटो’ बन्ने भएको छ। कस्तुरी प्रोडक्सन र रेड अम्ब्रेला इन्टरटेन्मेन्टको सहकार्यमा बनिरहेको यस फिल्मको कथा र निर्देशन लक्ष्मण सुनारले गर्नेछन्।
निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा “गाउँपालिका भवन उद्घाटन” र “प्रधानमन्त्रीको ज्युलाई स्वागत छ” लेखिएका दृश्य छन्, जसले कर्णालीलाई ‘दर्शनीय प्रयोगशाला’ मात्र बनेको भन्ने आलोचनात्मक सन्देश दिन्छ। साथै, “लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे” लेखिएको वाक्यले राज्यको उपेक्षालाई भावनात्मक र राजनीतिक रूपमा संकेत गरेको छ।
फिल्ममा सामान्य नागरिकको संघर्ष, दाम्पत्य सम्बन्ध, राजनीतिक बेवास्ता, कर्णालीको सडक अभाव, उपचारको कठिनाइ, विकास योजनामा हस्तक्षेप र शक्ति केन्द्रको नजरन्दाजजस्ता विषय समेटिनेछ।
संगीत सुरज पण्डितले तयार पार्नेछन् भने छायांकन निसाल पौडेलले गर्नेछन्। पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन्। कार्यकारी निर्माता नगेन्द्र घिमिरे हुन् र वितरण अधिकार काफिया फिल्म्सले लिएका छन्।
फिल्मको छायांकन यस वर्षको अन्त्यतिर कर्णालीका विभिन्न जिल्लामा हुनेछ र २०८३ सालमा प्रदर्शनमा आउने योजना छ। पटकथा अन्तिम चरणमा छ र कलाकार छनोट चाँडै हुने निर्माण पक्षले जनाएको छ।
यसअघि सार्वजनिक ‘रेलको बाटो’ म्युजिक भिडियोले चर्चा पाएको थियो। अब सोही नाममा बन्ने फिल्मले “दूरदराजको पीडा र कहिल्यै नआउने रेलजस्तो आशा”लाई पर्दामा जीवित रूपमा प्रस्तुत गर्नेछ।