‘रियाल रिङ्गेट’को भव्य प्रिमियर सम्पन्न, विदेशिएका नेपालीहरूको पीडा पर्दामा

काठमाडौँ। यो शुक्रबार देशभर रिलिज हुन लागेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रिमियर काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा फिल्म युनिटका सदस्यहरू, राष्ट्रिय कलाकार, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

निर्देशक विभोर पोखरेल र निर्माता गगनलाल प्रधानको निर्माणमा बनेको फिल्मले रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीहरूको संघर्ष र पीडालाई यथार्थपरक रूपमा प्रस्तुत गरेको छ। ‘रियाल’ (कतार/साउदी) र ‘रिङ्गेट’ (मलेसिया) मुद्रा प्रयोग गरेर प्रवासी जीवनको प्रतीकात्मकता झल्काइएको छ।

प्रिमियरमा धेरै दर्शक भावुक बनेका थिए। इराकमा १२ नेपालीको हत्या लगायत प्रवासी श्रमिकहरूको कठोर यथार्थ फिल्मले बलियो रूपमा प्रस्तुत गरेकोमा दर्शकहरूले प्रशंसा गरेका छन्। “नेपालका लाखौँ श्रमिकहरूको कथा हो यो,” उनीहरूले प्रतिक्रिया दिएका थिए।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मले आफूलाई अत्यन्त भावुक बनाएको बताए। उनले भने, “देश दुख्ने फिल्म हो यो। फर्कने ढोका पनि खोल्नुपर्छ।” गायक प्रेमराजा महतले यसलाई “देश बुझाउने चलचित्र” भनेका छन्।

फिल्ममा प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा छन्। साथमा छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, सीमा केसीलगायत दर्जनौँ कलाकारको अभिनय रहेको छ। प्रदीप भारद्वाजको लेखन रहेको फिल्मको छायाङ्कन भारत, चितवन, काठमाडौं र लेटाङमा गरिएको हो।

द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, सम्पादन विपिन मल्ल, छायाङ्कन हरि घले र पृष्ठभूमि सङ्गीत किरण तुलाधरले गरेका छन्। गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत तथा सुगम पोखरेल, केतन क्षेत्री, जुनु रिजाल लगायतका स्वर रहेका छन्।

रेबेल फिल्मसको ब्यानरमा बनेको फिल्मलाई काफिया फिल्म्सले देशव्यापी रूपमा वितरण गर्दैछ। ‘रियाल रिङ्गेट’ ले क्युएफएक्स, आइएनआईसहितका हलहरूमा एक सय हाराहारीमा शो पाएको छ। अग्रिम टिकट बुकिङ पनि सुरु भइसकेको छ।