‘नत्र भने जिन्दगी व्यर्थ छ’ गीतमा टिकटक क्रेज, २० हजार भिडियो

काठमाडौँ। फिल्म कोशेढुङ्गा को तीज विशेष गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको केही दिनमै भाइरल बनेको छ। निर्देशक सरोज पौडेलका अनुसार यो गीतमा २० हजारभन्दा बढी टिकटक भिडियो बनिसकेका छन्। युट्युबमा १० लाखभन्दा बढी र फेसबुकमा ७० लाखभन्दा बढी दर्शकले हेरेका छन्।

नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत रहेको गीतमा खेम सेन्चुरी, समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको स्वर छ। विवाहित र अविवाहित महिलाको मनोभावनालाई समेटिएको गीतमा सुरक्षा पन्त, नीति शाह र ऋचा शर्मा लगायत देखिएका छन्।

निर्माण टिमले टिकटक प्रतियोगिता पनि घोषणा गरेको छ, जसमा अगस्ट २० सम्म सहभागी हुन सकिनेछ। ‘#नत्रभनेजिन्दगीव्यर्थछ’ ह्यासट्याग प्रयोग गरी बनाइएका भिडियोमध्ये उत्कृष्ट प्रदर्शनले ३० हजार, सबैभन्दा क्रियटिभ भिडियोलाई २० हजार र सबैभन्दा धेरै लाइक पाएको भिडियोलाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ।

भदौ १२ गते प्रदर्शनमा आउन लागेको कोशेढुङ्गा नेपालसहित ४२ देशमा एकैसाथ रिलिज हुने पहिलो नेपाली फिल्म बन्नेछ।