‘अवतार ३’ को ट्रेलर सार्वजनिक

काठमाडौं।   सन् २०२५ मा प्रदर्शन हुने हलिउड फिल्म ‘अवतार ३’ को ट्रेलर सार्वजनिक गरिएको छ। यस श्रृंखलाको शीर्षक ‘अवतार : फायर एण्ड एस’ राखिएको छ।

फिल्मको ट्रेलर हलमा शुक्रबार प्रदर्शन गरिए पनि इन्टरनेटमा सोमबार साँझ मात्रै सार्वजनिक गरिएको हो।

जेम्स क्यामरुनद्वारा निर्देशित उक्त फिल्म सन् २०२५ डिसेम्बर १९ मा विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा छ। विज्ञानकथामा आधारित फिल्ममा काल्पनिक पाण्डोरा ग्रहमा बसोबास गर्ने दुई आदिवासी समुदायबीचको द्वन्द्व, ज्वालामुखी तथा वातावरणीय संकटको चित्रण गरिएको छ।

फिल्ममा साम वर्थिङ्टन, जोय साल्दाना, सिगोर्नी वीभरलगायत कलाकारको अभिनय रहेको छ।

‘अवतार’ फ्रेन्चाइजीका पहिलो र दोस्रो श्रृंखलाले विश्व फिल्म इतिहासमा सबैभन्दा धेरै कमाइ गर्ने शीर्ष पाँच फिल्ममा स्थान बनाएका छन्।

सन् २००९ मा प्रदर्शन भएको पहिलो श्रृंखला ‘अवतार’ ले २ अर्ब ९२ करोड ४० लाख अमेरिकी डलर आम्दानी गरेको थियो। सन् २०२२ मा प्रदर्शन भएको दोस्रो श्रृंखला ‘अवतार : द वे अफ वाटर’ ले २ अर्ब ३२ करोड अमेरिकी डलरको व्यापार गरेको थियो।

तेस्रो श्रृंखलालाई यो फ्रेन्चाइजीको अन्तिम भागका रूपमा लिइएको छ।