काठमाडौं। नेपाली फिल्म क्षेत्र आगामी भदौ महिनामा उत्साहका साथ अघि बढ्दैछ। भदौ महिनामा सात नयाँ फिल्महरू प्रदर्शनमा आउने भएका छन्। सामाजिक कथा, प्रविधिको प्रयोग, ट्रान्स–थीम, प्रेम र पीडादेखि लिएर कमेडीसम्मका विभिन्न शैली समेटिएका यी फिल्महरू एकपछि अर्को गर्दै प्रदर्शनमा आउँदैछन्। भदौको पहिलो दिनदेखि अन्तिम सातासम्म दर्शकले नेपाली फिल्ममा विविध स्वाद पस्किने अवसर पाउनेछन्।
भदौ ६ — माग्ने राजा
निर्देशक ऋषि लिमिछानेको निर्देशनमा बनेको फिल्म ‘माग्ने राजा’ कमेडीको भरपुर डोजसहित प्रदर्शनमा आउँदैछ। आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, वर्षा शिवाकोटी, विल्सन विक्रम राईलगायतका कलाकारको अभिनय छ। टीजर सार्वजनिक भएसँगै फिल्मले सामाजिक सञ्जालमा राम्रो चर्चा पाएको छ। ‘सुतेर उठेको पैसामा’ गीत एक साता अघि सार्वजनिक भएको थियो, जुन दर्शकले मन पराइरहेका छन्।
भदौ ६ जनै हराएको मान्छे
हिमाल न्यौपानेको निर्देशनमा बनेको ‘जनै हराएको मान्छे’ मा विजय बराल, केकी अधिकारी र मिरुना मगरको अभिनय छ। यस फिल्मले प्रेम, परिवार र धोका जस्ता भावनात्मक तह समेटेको छ। सार्वजनिक टीजरले दर्शकको ध्यान आकर्षित गरेको छ। ‘मुसुरी दाना’ बोलको गीत केही दिनअघि सार्वजनिक भएको थियो।
भदौ १२ कोशेढुङ्गा
‘कोशेढुङ्गा’ सामाजिक–ड्रामा शैलीको फिल्म हो, जसले ग्रामीण जीवन, संघर्ष र सपनाहरू उजागर गर्छ। बलकबस्टर फिल्म ‘पूर्ण बहादुर सारङगी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको यस फिल्ममा आर्यन सिग्देल, सुरक्षा पन्त, ऋचा शर्मा, निती शाहलगायतको अभिनय छ। यो फिल्म ४० भन्दा बढी देशमा एकैसाथ प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्ने तयारीमा छ। अन्तर्राष्ट्रिय बजारमा सेभेज इन्टरनेशनल फिल्मले यसको प्रदर्शन गर्दैछ। फिल्मको तिज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ एक साता अघि सार्वजनिक भएको थियो र टिकटक तथा रिल्समा भाइरल भइरहेको छ। निर्माता प्रेविल कंडेल र किशोर अनुराग हुन् भने नरदेवी फिल्म्स प्रालिको प्रस्तुतीमा बनेको हो।
भदौ १३ ‘गुन्यु चोलोः द ड्रेस’
ट्रान्स–थीम समेटिएको फिल्म ‘गुन्यु चोलोः द ड्रेस’ निर्देशक समुद्र भट्टको निर्देशनमा बनेको हो। यसमा नजीर हुसेन ट्रान्स–वुमेनको भूमिकामा देखिएका छन्। सन्चिता लुइटेल, शुसिल सिटौला, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको यस फिल्मको ‘म फुल हु कि काँडा’ गीतले दर्शकको जिज्ञासा बढाएको छ। सामाजिक पहिचान र ट्रान्स अधिकारका विषय उठान गर्ने यो फिल्म फरक धाराको मानिन्छ।
भदौ २० — चिट्ठी र ‘रिमै’
भदौ २० मा एकै दिन दुई फरक शैलीका फिल्म प्रदर्शन हुनेछन्। माधव राज खरेलको निर्देशनमा बनेको फिल्म ‘चिट्ठी’ यथार्थपरक हाँस्य, सामाजिक व्यङ्ग्य र सस्पेन्सपूर्ण घटनाक्रमको संगम हो । । यसमा खड्ग बहादुर पुन ‘खबपु’ , संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा लगायतको अभिनय छ। केहि दिन अघि फिल्म ‘चिट्ठी’ को पोष्टर सार्वजानिक गरिएको थियो।
उस्तै दिन ‘रिमै’ नामक इमोशनल सस्पेन्स फिल्म पनि प्रदर्शन हुँदैछ। खिल बहादुर गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई , गौमाया गुरुङ, रिश्मा गुरुङ, कविता आले मगर, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ। यो फिल्म गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालि र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको हो।
भदौ २७ — अभिमन्यूस् च्याप्टर १
भदौ महिनाको अन्त्यमा प्रदर्शन हुने ‘अभिमन्यूस् च्याप्टर १’ प्रविधिमा नयाँ प्रयोगसहितको फिल्म हो। सुसन गौतम निर्देशित यस फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी र गौमाया गुरुङको मुख्य भूमिका छ। नेपाली फिल्म इतिहासमै पहिलो पटक एआइ–जनरेटेड पात्र देखाइएको यो फिल्म प्रविधि र कथामा नवीन प्रयोगका कारण चर्चा बटुलिरहेको छ।चलचित्रका निर्माता विनोद पौडेल हुन्।