काठमाडौं । चर्चित टेलिभिजन हास्य कार्यक्रम ‘कमेडी दरबार’ टिमले फिल्म निर्माणमा नयाँ पाइला चाल्दै छ। सोमबार निर्माण टिमले आफ्नो नयाँ फिल्म ‘क का कि की’ को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरेको छ।
पोस्टरअनुसार फिल्ममा नेपाली फिल्मका चर्चित कलाकार गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठी मुख्य भूमिका निर्वाह गर्ने छन्। साथै, टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारी लगायतका कलाकारहरूको विशेष भूमिका रहने निर्माण पक्षले जनाएको छ।
फिल्मको जनरि पूर्ण रूपमा कमेडी रहेको बताइएको छ। निर्देशन विक्की अग्रवाल र श्रद्दा प्रसाईँले संयुक्त रूपमा गर्नेछन् भने निर्माता श्रद्दा प्रसाई र सुमित्रा थापाले फिल्म तयार गर्ने छन्। पटकथा विक्की अग्रवालले लेखेका हुन् भने कथा विक्की अग्रवाल, बिकाश अर्याल र सरोज भण्डारीको संयुक्त लेखन रहेको छ।
छायांकन निर्देशकको रूपमा सुदिप बराल नियुक्त भएका छन् भने थिम पोस्टर रोयल भिमसेनले तयार गरेका छन्। फिल्मको वितरण अधिकार श्री वेंकेटेशले लिएर अन्तर्राष्ट्रिय वितरण सेवन सिजले तथा डिजिटल अधिकार ओएसआर डिजिटलले पाउनेछन्।
‘कमेडी दरबार’ सञ्चालन गर्दै आएका विक्की अग्रवालका लागि यो पहिलो फिल्मी परियोजना हो। उनले भने, “आफ्नो फिल्मी करियरको सुरुआत अग्रज कलाकारहरूसँग सहकार्य गर्दै गर्न पाउँदा खुसी छु। हामीलाई विश्वास छ, ‘क का कि की’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाउनेछ। टेलिभिजनसँगै फिल्म हलहरूमा पनि हाँसो बगाउने हाम्रो प्रयास जारी रहनेछ।”
निर्देशक अग्रवालले फिल्मको छायांकन आगामी दशैंको टिकाको भोलीपल्टबाट सुरु हुने जानकारी दिएका छन्। बजेट र प्रदर्शन मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
News Filmy Newsportal / Nepal