“जनै हराएको मान्छे ” को गीत सार्वजनिक

काठमाडौँ। फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ। ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ। हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ।

सुनिल क्षेत्रीको कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका अधिकांश मुख्य कलाकार फिचर्ड छन्। विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीलगायत कलाकारलाई देख्न सकिन्छ।

प्रेममा रहेका प्रेमिल जोडीहरूको कथा गीतमा छन्। दुनियाको मन जित्ने व्यक्तिहरू आफ्नै व्यक्तिगत सवालमा भने कुनै टुंगो र थिति नहुने वास्तविकतासँगै गीत सुरु हुन्छ।

टिपिकल शब्दहरू प्रयोग गरिएको गीतमा प्रेमिकाले आफू प्रेमीका लागि योग्य रहेको बताएको छ। प्रेमीको हेराइले हुरुक्कै पार्ने गरेको प्रसंग उल्लेख गर्दै एकले अर्कोलाई जिन्दगी सँगै जिउन गरेको सल्लाह गीतमा उल्लेख छ।

भिडियोमा ठूलो संख्यामा कोरस प्रयोग गरिएको छ। क्यारेक्टर आर्टिस्टले नाच्न जान्दैनन् भनिन्छ। तर, विजय बरालले मेहनत गरेका छन्। कोरियोग्राफीमा पनि मेहनत गर्दा भिडियो राम्रो बनेको छ।

हिमाल न्यौपानेले निर्देशन गरेको फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ।

भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो फिल्मलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन्। फिल्मको एसोसिएट निर्देशनमा मनिष राउत छन्।

फिल्मको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।

फिल्ममा शाहिल खानको टिजर–ट्रेलर, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन्।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ।

‘पूर्णबहादुरको सारङ्गी’ जस्तो सफल फिल्मपछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यो फिल्मलाई यस वर्षको एक बहुप्रतिक्षित फिल्मका रूपमा हेरिएको छ।

Leave a Reply