काठमाडौं । साइकोलोजिकल थ्रिलर शैलीमा बनेको चलचित्र ‘द ब्ल्यू लाइट’को पहिलो झलक सार्वजनिक भएको छ। अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माणपक्षले झलकसँगै पोस्टर पनि सार्वजनिक गरेको हो।
मंसिर १२ गते रिलिज हुने यस चलचित्रको टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरूलाई प्रस्तुत गरिएको छ। टिजरको सुरुवात एक छोरीको डराएको सपनासँग हुन्छ, जसमा उसले आफ्ना बुबाको मृत्यु भएको देख्छ र त्यो सपना बुबालाई सुनाउँछे। बुबाले छोरीलाई ढाडस दिँदै, “सपनामा मरेको देखेको मान्छेको आयु लामो हुन्छ,” भन्दै डर हटाउने प्रयास गर्छन्।
त्यसपछि आफूलाई कमजोर महसुस गरेकी एक युवतीलाई कठोर र साहसी बनाउन हतियार बोकेर हिँडिरहेको देखाइएको छ। अर्की युवती भने चाल सुनिरहेको अवस्थामा छिन्। यी दृष्यहरूले दर्शकलाई तनाबपूर्ण वातावरणमा डुबाउँछन् र चलचित्र साइकोलोजिकल थ्रिलर हो भन्ने कुरा स्पष्ट गर्छन्।
सार्वजनिक गरिएको पोस्टरमा निलो पृष्ठभूमिमा मुख्य तीन कलाकार—बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठलाई देखाइएको छ। उनीहरू सबैको अनुहारमा तनावको अभिव्यक्ति छ। विशेषगरी, एंग्री लुक्समा देखिएकी सृष्टि श्रेष्ठको हातमा रगतले लतपतिएको बन्चरो छ, जसले उनले भर्खरै कसैमाथि प्रहार गरेको संकेत दिन्छ।
चलचित्रलाई बलिराम चौहानले निर्देशन गरेका हुन्। उनले यसअघि प्रतिक्षित चलचित्र ‘बलिदान’मा लेखक तथा मुख्य सहायक निर्देशकको रूपमा काम गरेका थिए। ‘द ब्ल्यू लाइट’ भने उनको डेब्यु निर्देशन हो।
स्काइफल पिक्चर्सको प्रस्तुतिमा बनेको यस चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी लगायतका कलाकारको अभिनय रहेको छ। बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन्।
निर्माणपक्षले कलाकारहरूको भूमिका र कथावस्तु पूर्ण रूपमा खुलाएको छैन। निर्देशक चौहानका अनुसार कथा क्रमशः सार्वजनिक गरिँदै जानेछ।
निर्माता बलिराम चौहान (ग्याट्स्वी) रहेको यस चलचित्रको सह-निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन्। कार्यकारी निर्माता छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल हुन्। चलचित्रको छायांकन पनि मैनालीले नै गरेका हुन्।
यसमा आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।
News Filmy Newsportal / Nepal
