काठमाडौँ। श्रावण महिनामा तीन नेपाली फिल्म प्रदर्शनमा आउन तयारी भएको छ। वैदेशिक रोजगारी, देउकी प्रथा र गाउँ–समाजका कथावस्तुमा आधारित यी फिल्म क्रमशः श्रावण १६ र २३ गते रिलिज हुने भएका छन्।
श्रावण १६ गते विभुर पोखरेल निर्देशित ‘रियाल रिङ्गेट’ प्रदर्शनमा आउनेछ। वैदेशिक रोजगारीमा गएका युवाको संघर्ष र पीडालाई देखाइएको यसमा निता ढुङ्गाना, प्रमोद चौलागाईं, धुव्र कोइराला, छुल्ठिम गुरुङ, प्रेम सुब्बा, रामचन्द्र अधिकारी र रियर राईको अभिनय छ। निर्माण पक्षका अनुसार फिल्मले युवापुस्ताको वास्तविक कथा प्रस्तुत गर्ने दाबी गरेको छ।
श्रावण २३ गते दुई फिल्म ‘सिटामोल’ र ‘मोहर’ एकैसाथ रिलिज हुँदै छन्। राज बहादुर साने निर्देशित ‘सिटामोल’ गाउँमा हुर्किएका पात्रहरूको सम्बन्ध र भावनामा केन्द्रित कथा हो। यसमा सौगात मल्ल, वेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखकको अभिनय छ।
त्यसैदिन ओम प्रतीक गुरुङ निर्देशित ‘मोहर’ पनि प्रदर्शनमा आउनेछ। समाजमा अझै पनि विद्यमान देउकी प्रथालाई कथावस्तु बनाइएको यसमा पल शाह, वेनिशा हमाल र नीति शाह मुख्य भूमिकामा छन्।
तीनै फिल्म फरक विषय र प्रस्तुति लिएर आएका कारण फरक स्वादका दर्शकलाई हलसम्म तान्ने अपेक्षा निर्माण पक्षले गरेका छन्।
News Filmy Newsportal / Nepal
