फिल्म ‘मोहर’को ट्रेलर सार्वजनिक, देउकी प्रथा र प्रेम–बिछोडको कथा

काठमाडौँ। सामाजिक कुरीति, प्रेम, विछोड र प्रतिशोध मिसिएको नेपाली फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक गरिएको छ। साउन २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्म फिल्म मेकर्स प्रा।लि। को ब्यानरमा निर्माण गरिएको हो।

फिल्मको लेखन र निर्देशन ओम प्रतिकले गरेका छन् भने निर्माण चुम्बन जंग शाहीले गरेका हुन्।

ट्रेलरमा नायक पल शाहसँगै बेनिशा हमाल र नीति शाहको प्रेम त्रिकोण, समाजमा गढिएको देउकी प्रथा र त्यसबाट सिर्जिएको मनोवैज्ञानिक उतारचढाव प्रस्तुत गरिएको छ। साथै लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्माको अभिनयले कथालाई थप गहिरो बनाएको देखिन्छ।

फिल्म ‘मोहर’ ले पुरातन देउकी प्रथामाथि प्रश्न उठाउँदै यसको सामाजिक, भावनात्मक र व्यक्तिगत असरलाई पर्दामा उतार्ने प्रयास गरेको छ। एउटी बालिका देउकी चढाइने प्रसंगमार्फत सुरु भएको कथा प्रेम, विछोड र बदलाको भावनात्मक आरोह–अवरोहसँग जोडिन्छ।

ट्रेलरमा पल शाहको बेनिशा र नीतिसँगको सम्बन्धले प्रेम र दुविधाको द्वन्द्व उजागर गर्छ। गीत, संवाद र दृश्य संयोजनले कथामा गहिरो प्रभाव छोड्ने प्रयास देखिन्छ।

फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, अर्जुन जंग शाही, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्मा प्रमुख भूमिकामा छन्।

गिरिराज घिमिरे सह–निर्देशक रहेका फिल्ममा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यानेजरका रूपमा, दीपेन बस्न्यात छायाँकार, भूपेन्द्र अधिकारी सम्पादक, रेनिश फागो रंग संयोजकका रूपमा आवद्ध छन्।

फिल्मको संगीत सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीले तयार पारेका हुन् भने ट्रेलर साहिल खानले सम्पादन गरेका हुन्। रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ।

फिल्मको शीर्षक ‘मोहर’ प्रतीकात्मक रूपमा महिलाको मूल्य, निर्णय र पहिचानसँग जोडिएको देखिन्छ।

ट्रेलरमार्फत फिल्मप्रति सकारात्मक अपेक्षा बढेको छ। अहिलेका चर्चित गीत र टिजरपछि सार्वजनिक ट्रेलरले दर्शकको ध्यान आकर्षित गर्न सफल देखिन्छ।

Leave a Reply