मिरमिरेमा ६० लाख नेट पारिश्रमिक लिएर दयाहाङ राई बने सवै भन्दा महंगो अभिनेता

अनुप भट्टराई

काठमाण्डौँ । गत बर्ष रिलिज भएको फिल्म कार्साङका निर्देशक यम शेर्पाले निर्देशन गर्न लागेको नयाँ फिल्म मिरमिरे खेल्नका लागि दयाहाङ राईले ६० लाख नेट पारिश्रमिक लिएर सवै भन्दा महंगो अभिनेता बनेका छन ।

न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार दयालाई मिरमिरेका निर्माताले नै उक्त रकम अफर गर्दै फिल्म खेल्न राजी गराएका हुन जसको जोडबलमा निर्देशक शेर्पाको प्रमुख भूमिका रहेको थियो ।
यो सम्झौतामा ६० लाख पारिश्रमिक लिए वापत दयाहाङले सरकारलाई तिर्नु पर्ने ट्याक्स पनि निर्माता तर्फबाट नै व्यहोर्नु पर्ने सर्त उल्लेख भएको बताईएको छ । तसर्थ दयाहाङ राई नेपालको सवै भन्दा व्यस्त मात्र हैन सवै भन्दा महंगा नायक बनेका हुन ।

मिर्मिरेमा अनुबन्ध भएपछि दयाहाङ राई निर्देशक यम शेर्पा (वाया) र प्रोडक्सन डिजाईनर दिलिप पन्त (चश्मा लगाएका ) का साथ तस्बिर खिचाउदै

नेपाली रजतपटमा कृ फिल्मबाट अनमोल केसीले २० लाख पारिश्रमिक लिएपछि सुरुवात भएको हाई बजेटको परम्परा अहिले प्राय चलेका कलाकारहरुमा ज्यादा देखिन थालेको छ । अनमोलले एउटा फिल्म खेलेवापत ५० लाख सम्म लिन थालेपछि प्रदीप खड्का, पल शाह, सौगात मल्ल, विपिन कार्की, दयाहाङ राई, खगेन्द्र लामिछाने सहित केही हिरोइनहरुको हकमा पनि पारिश्रमिक हावत्तै बढेर आयो ।

यो ट्रेन्ड बढ्दा अहिले उच्च कोटीका प्राविधिक देखि नाम चलेका निर्देशक र स्क्रिप्ट राईटरहरु सम्मको पारिश्रमिक प्रसंसनीय छ । न्यूनतम दश लाख घटी कोही पनि चलेका कलाकार तथा प्राविधिक प्रोजेक्टमा जोडिन मान्दैनन । हाल सम्म नेपाली फिल्ममा अनमोल केसी सहित विपिन कार्की र प्रदीप खड्का ज्यादा पारिश्रमिक लिने नायकको सूचिमा पर्दथे तर दयाहाङले मिरमिरेमा ६० लाख विना ट्याक्स लिने निर्णय गरेपछि उनी महंगो पारिश्रमिक लिने अभिनेताको सूचिमा एक नम्बरमा आएका हुन ।

मिरमिरे आउदो असार १५ भित्रै फ्लोरमा जाने तयारीमा छ । निमु शेर्पा र छोङ्बा लामा शेर्पाको संयुक्त लगानी बन्ने यस फिल्ममा कार्साङबाटै डेब्यू गरेकी अभिनेत्री सृजना निङलेखु मुख्य भूमिकामा खेल्दैछिन । बताईए अनुसार हाल चलेकी अर्की एक अभिनेत्री पनि उक्त फिल्ममा जोडिने प्रवल सम्भावना छ ।

पूर्वी नेपालको तेह्रथुम, झापा र धरानमा छायाँकन हुने मिरमिरेलाई आलोक शुक्लाले खिच्नेछन । हाल दयाहाङ राई पाँचथरमा जारी- २ को सुटिङमा व्यस्त छन । उनी केही दिनमा जारी २ को सुटिङ सकेर काठमाण्डौँ आउने र पुनः मिरमिरेको छायाँकनका लागि पूर्व जाने सेड्यूल रहेको छ । जारी -२ मा भने दयाहाङ आफै शेयर होल्डर छन ।