‘मोहर’को नयाँ पोष्टरमा पलको डबल रोल कि लभ ट्राइएंगल ?

काठमाण्डौ — दर्शकलाई द्विविधामा पार्ने गरी पल शाहको फिल्म मोहरको दुई नयाँ पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक दुई मध्ये एक पोष्टर हेर्दा  लाग्छ फिल्ममा पलको डबल रोल छ कि दुई हिरोइनवीच लभ ट्राइएंगल ?

ओम प्रतिकको लेखन र निर्देशनमा तयार भएको मोहर साउन २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । हालै सार्वजनिक गरिएको पोष्टरमा पल दुई फरक गेटअपमा देखिएका छन्। एकतर्फ उनी लामो कपालमा हिरोइन वेनिशा हमालसँग रोमान्टिक मुद्रामा देखिएका छन भने अर्कोतर्फ छोटो कपालमा अर्की हिरोइन नीति शाहसँग बाँधिएका छन्। यही दृश्यले दर्शकमा फिल्मको कथावस्तुबारे अनेक अड्कल उत्पन्न गराएको छ।

‘अलिखित नियममा आधारित कथा’ भनिएको मोहरको टिजर जेठ २७ गते सार्वजनिक हुँदैछ। निर्माण पक्षका अनुसार पोष्टरमार्फत नै दर्शकमा कौतूहलता जगाउने प्रयास गरिएको हो। टिजर सार्वजनिक भएसँगै फिल्मको कथा अझ स्पष्ट हुने विश्वास लिइएको छ।

चुम्बन जंग शाहीको निर्माणमा बनेको फिल्ममा पलसँगै अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, र बाल कलाकार सारा शर्माको पनि मुख्य भूमिका छ।