चर्चा बढाउन अभिमन्यूले सुरु गर्‍यो सय दिने काउन्ट डाउन

काठमाण्डौँ । मिडिया पब्लिसिटी सहि ठाउँमा पर्‍यो भने पूर्णबहादुरको सारंगीको जस्तो व्यापार गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिसकेका निर्माता विनोद पौडेलले आफ्नो नयाँ फिल्म अभिमन्यूको चर्चा बढाउन सय दिनको काउन्ट डाउन सुरु गरेका छन ।

फिल्मको फष्र्टलुक पोष्टर समेत सार्वजनिक गर्दै सुरु गरिएको काउन्ट डाउन आउदो भदौँ २७ गते पूरा हुँनेछ जुन दिन अभिमन्यू संसारभर एक साथ रिलिज हुनेछ ।

चलिरहेको ट्रेन्ड भन्दा बाहिर रहेर फिल्म बनाएको दावी गर्दै निर्माता पौडेलले फिल्मको पब्लिसिटी सुरु भएको जानकारी दिएका हुन । तयार गरिएको पोष्टरमा तराइको सेटअप देखाईएको छ जहाँ एक युवकले सानी नानीलाई सरकारी स्कुलको पोषाकमा आफ्नो हातमा किताब र कपी च्यापेर बोकेर लैजाँदै गरेको देखिन्छ ।

नव निर्देशक सुशान्त गौतमको निर्देशनमा बनिरहेको अभिमन्यूको मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन् । फिल्मको कथा मुकेश खनालको हो ।